राप्रपा र राजपाको एकीकरण

राप्रपा र राजपाको एकीकरण पाँच बर्षअघि सत्ताको छिनाझम्टीमा फुटेका पशुपतिशमशेर राणाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीले शनिबार औपचारिक रुपमा एकताको घोषणा गरेका छन् ।




पार्टी एकीकरणको औपचारिक घोषणा कार्यक्रममा राप्रपा अध्यक्ष राणा र राजपा अध्यक्ष थापाले पार्टी औपचारिक रुपमा एकीकरण भएको घोषणा गरेका हुन् । साथै पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी राखिएको छ ।



तर, महाधिवेशन नभएसम्म दुवै पार्टीको केन्दि्रय समिति यथावत रहने र महाधिवेशन पछि नाम परिवर्तन हुने बताइएको छ । साथै राणाको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ ।



राणा र थापा दुवैले आम कार्यकर्ताको भावना र मुलुकमा प्रजातान्त्रिक शक्तिलाई थप बलियो बनाउने उद्देश्यले पार्टी एकता बनाएको बताए ।



जुट्ने र फुट्ने रोग



राप्रपा, राजपा र राप्रपा नेपालको फुट्ने र जुट्ने रोग नयाँ भने होइन । ०४६ सालको परविर्तनपछि पनि पूर्वपञ्चहरूले मिलेर एउटै दल बनाउन सकेनन् । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दका नेतृत्वमा राप्रपा नामकै दुई दल खडा भए । ०५१ सालअघि यी दुवै दलबीच एकता भयो । ०५१ सालको मध्यावधि निर्वाचनमा उल्लेख्य सिटमा जित हात पारेर गठबन्धन सरकारमा निणर्ायक शक्तिको स्थान हासिल गरे । त्यही निर्णयक स्थान उक्त पार्टीलाई बोझ भयो तथा एमाले र कांग्रेस कोसँगको गठबन्धन सरकारमा सामेल हुने विवादमा ०५३ सालमा पार्टी फुट्यो । फुटपछि बनेको लोकेन्द्रबहादुर चन्द नेतृत्वको खेमा एमालेसँगको सरकारमा सहभागी भयो । त्यसपछि थापा पनि कांग्रेससँगको सरकारमा सहभागी भए । पुनः ०५६ को आमचुनावअगाडि दुई पार्टी एक भए । तर, चुनावमा नराम्रो क्षति बेहोर्न पुगे । राजाले ०५९ असोज १८ र ०६१ माघ १९ को कदम चालेपछि राप्रपा पुनः फुट्यो । असोज १८ पछि राजाको निगाहमा प्रधानमन्त्री बनेका सूर्यबहादुरलाई गन्तव्यहीन बाटोमा प्रधानमन्त्री नबन्न र राजीनामा दिन पार्टीले निर्देशन दियो तर उनले मानेनन् र प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पार्टी फोडेर राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । राजाको ०६१ माघ १९ को कदम ठीक छैन भन्ने अडानमा संस्थापन पक्ष अड्यो भने राजाले आँटेपछि जे पनि हुन्छ भन्ने धारमा कमल थापा नेतृत्वको समूह गयो । जसले ०६२ सालमा उसलाई पार्टी फोडेर राप्रपा नेपाल नामको अर्को पार्टी गठन गर्न प्रेरति गर्‍यो । उक्त समूहले राप्रपाबाट पशुपतिशमशेरलगायतलाई निकालेको घोषणा मात्र गरेन, पार्टी केन्द्रीय कार्यालय कब्जासमेत गर्‍यो ।



देशमा गणतन्त्र स्थापना भइसकेपछि पूर्वराजावादी यी दलहरूबीच एकताको प्रयास सुरु भएको हो । सूर्यबहादुरले फालेको बृहत् प्रजातान्त्रिक एकताको पत्ताप्रति सहमति जनाउँदै शाही शासनकालमा मन्त्रीसमेत रहेका केशरबहादुर विष्ट नेतृत्वको प्रजातान्त्रिक नेपाल पार्टी तीन वर्षअघि राजपासँग विलय भयो । राजपाबाटै नेता बुद्धिमान तामाङको नेतृत्वमा एक दर्जन केन्द्रीय सदस्यलगायतको एउटा ठूलो समूह भने यसअघि नै राप्रपा प्रवेश गरसिकेको छ ।



राप्रपा नेपालमा संविधानसभाअघि निर्वाचनमा भाग लिने या नलिने भन्ने कुरामा समेत विवाद भयो । कमल थापाले निर्वाचनमा भाग लिनुपर्ने अडान राखे भने राजेश्वर देवकोटा र रवीन्द्रनाथ शर्माले भाग लिनु हुँदैन भन्ने धार पक्रे । देवकोटा र शर्माले समानुपातिक कोटामा पार्टीले प्रस्ताव गरेको सभासद्को नाम पनि काट्न लगाए । तर, निर्वाचन सम्पन्न भएपछि को-को सभासद् बन्ने भन्ने विषयमा पुनः विवाद भयो । त्यही विवादबीच दुवैले राप्रपा नेपाल छाडे र २२ जना केन्द्रीय सदस्यसहित देवकोटा र शर्मा राप्रपा प्रवेश गरे ।

No comments:

Post a Comment